२ जेष्ठ २०८१, बुधबार

नेपालमा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सम्पन्न



काठमाडौं । नेपालमा पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियान सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पहिलो चरणको खोप अभियान समाप्त हुँदा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् ।

जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् ।

माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको शुभारम्भ गरेका थिए ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधि उत्पादक कम्पनीले उत्पादन गरेको खोप प्रयोग गर्न थालिएको हो ।

पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप नेपालमा लगाइएको हो ।



प्रतिक्रिया दिनुहोस !