नेपाली काँग्रेसद्वारा सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न अपिल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध सबै दलहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमका विरुद्ध बन्द लगायतका जनतालाई दुःख दिने काम नगर्न आग्रह गरेका हुन ।
‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्ति विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन कांग्रेसले अपिल गरेको छ । शनिबार कांग्रेस सम्बद्ध भातृ संस्थाको प्रदर्शन हुने जानकारी दिएका छन् । कांग्रेसले आगामी फागुन तीन गते ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएकाले त्यसमा सबैको सहभागिताका लागि नेता शर्माले विज्ञप्तिमार्फत अपिल गरेका हुन् ।