२९ बैशाख २०८१, शनिबार

एमसीसी विरोध नारा लगाउँदा किन झस्किए प्रचण्ड ?



काठमाडौं । आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरु सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हुलमा थपिए र दायाँ हातलाई तलमाथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले ।

नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहेका थिए । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले जिन्दावाद र कहिले मुर्दावाद भनिरहेका थिए । उद्घोषण गरिरहेका तीन कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन ।’

एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र भुसाललाई अहिलेको समयमा उक्त लगाउनु ठीक नभएको संकेत गरिहाले । उनी त्यत्तिमै रोकिएनन्, आफैले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इंगित गर्दै प्रतिगमनविरुद्ध जस्ता नारा लगाउन सल्लाह दिए । उद्घोषकले तत्काल त्यसलाई माने पनि ।

तर, केही समयपछि नै उद्घोषकले उही नारा दोहोरइहाले, एमसीसी चाहिँदैन । दाहाल उद्घोषकले उक्त नारा लगाउने बित्तिकै मौन बसे । त्यसपछि आफूलाई ढिलो भएको संकेत गर्दै बिदा मागेर हिँडे । दाहालसँगै आन्दोलनमा सहभागी नेता विष्णु रिजालले यो आन्दोलन एमसीसी वा अरू कुनै पनि एजेन्डाविरुद्ध नभएकाले अध्यक्ष दाहालले पहिले नै तयार रहेका नारा लगाउन भनेको बताए । उनले भने, ‘हामीले यो आन्दोलन संविधानमाथि आक्रमणविरुद्ध गरेको हो । अन्य विषयमा होइन ।’ रिजालका अनुसार आन्दोलनका निर्धारित नारा थिए । दाहालको सचिवालयका एक सदस्यका अनुसार बिहीबारको कार्यक्रम संविधानमाथि भएको ‘कु’ को विरोधमा रहेको बताए । ‘उहाँ (दाहाल)ले संविधानमाथि भएको घातका विषयमा केन्द्रित गरेर आन्दोलन गर्न भन्नुभएको हो । अहिले अन्य अप्रसांगिक विषयमा नबोल्न भन्नुभएको हो,’ ती सदस्यले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !