२१ बैशाख २०८१, शुक्रबार

‘जनमुक्ती सेनालाई सम्मान गर्न फाइल बनाएको थिएँ, प्रतिकृयावादीहरुले लुकाए’-प्रचण्ड



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ती सेनाहरुलाई विशेष पार्टी घोषणा गरेर प्रदेश स्तरको कमिटीमा राख्ने बताएका छन् ।

बुधवार दिँउसो बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पूर्व जनमुक्तीहरुलाई सम्मान गर्न विशेष पार्टी कमिटी बनाउनेबारे छलफल भएको बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला पहिलो मन्त्रिपरिषद्को बैठकमा नै जनमुक्ती सेनालाई सम्मान गर्न फाइल तयार गरेको बताए । तर त्यसको फाईल प्रतिक्रियाबादीहरुले लुकाएको आरोप लगाएका छन् । बहिर्गमित जनमुक्ती सेनालाई आफू प्रधानमन्त्री बनिसकेकाले जनयुद्धको बारे कम पीडा भएको भन्ने नसोच्न समेत आग्रह गरेका छन् ।

“तपाईहरुले सोच्नुभएको होला , तपाईलाई भन्दा मलाई कम पीडा भएको छ भनेर । तपाईहरुले भन्ठान्नुभएको होला प्रचण्ड प्रधानमन्त्री भयो भनेर । मलाई ठूलो पीडा छ ।” प्रचण्डले भने- “मैले त्यत्रो परिवर्तन गरेको, जनमुक्ती सेनालाई सम्मान गर्ने निर्णय गरेको फाइल लुकाइएको छ । प्रतिक्रियाबादीहरुले लुकाएका छन् ।”

त्यस्तै पूर्व जनमुक्ती सेनाहरुलाई सरकारले दिँदै आएको भत्ता र सुविधा हालको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाइदिएको टिप्पणी गरे । “राज्यको तर्फबाट दिने सुविधाहरुमा यो बीचमा जति दिने भनेर पहिलाका सरकारले दिने भनेको हो । यो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाइदिएको छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस !