चन्द्रागिरिको आईपीओ यसै साता सूचीकरण, कति पाउला ‘ओपन रेञ्ज’ ?
२१ माघ, काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ ढिलोमा शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ । चन्द्रागिरिको आईपीओ यहि साता सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने गरी नेप्सेले तयारी थालेको जनाएको छ ।
यहि साता सूचीकरण भए पनि दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुने जनाएको छ । नेप्सेले पहिरो कारोबारका लागि तीन गुणासम्म ‘ओपन रेञ्ज’ तोक्ने गरेको छ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ । चन्द्रागिरिका लागि नेप्सेले ९६ दशमलव ९९ रुपैयाँदेखि २९० दशमलव ०७ रुपैयाँ ओपन रेञ्ज तोक्ने बताएको छ ।
कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको हो ।
आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसमा पनि भाग्यमानी २ जनाले भने ११/११ कित्ता सेयर हात पारेको थिए । १० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।