चीनमा कोरोनाको नक्कली खोप, ८० जना पक्राउ
काठमाडौं । चीनमा कोरोन भाइरसविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिङ्ग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत उनीहरुलाई पक्राउ गरेको हो ।
ग्लोबल टाइम्सका अनुसार प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको ग्लोबल टाइम्सले जनाएको छ । उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुकबाहिर पठाउने तयारी गरिरहेको उल्लेख छ ।
सांघाइस्थित एक खोप विज्ञले ग्लोबल टाइम्सलाई भने, ‘खोपको कुनै असर छैन र यसले कुनै स्वास्थ्य समस्या पनि गराउँदैन । उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ ।
उनीहरुको मानिसहरुलाई घात गर्ने उद्देश्य भएको देखिँदैन ।’चीनमा २ कम्पनी सिनोवाक र सिनाफार्मलाई मात्र खोप लगाउन जिम्मा दिइएको छ। दुबै कम्पनीहरूले अन्य धेरै देशहरूमा खोपहरू पठाउँदै आएका छन् ।