चीनले ३ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउँदै
काठमाडौं । चीनले नेपाललाई ३ लाख डोजको कोरोना विरुद्धको खोप अनुदान सहयोग गर्ने भएको हो ।
नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।
चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेको समेत दूतावासले दाबी गरेको छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिईसकेको दाबी पनि दूतावासले गरेको छ ।
दूतावासका अनुसार उक्त खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको छ र यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तान लगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपतकालिन प्रयोग अनुमति प्राप्त गरिसकेको छ । लुआनले चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपको विकास भएसँगै विश्वलाई पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार नै नेपालको आग्रहमा चीनले खोप उपलब्ध गराउन लागेको बताए ।
भारतले नेपाललाई करिव दुई साता अघिमात्रै १० लाख डोज कोरोना भाइरसको खोप अनुदान सहयोग गरिसकेको छ ।