५ मंसिर २०८१, बुधबार

विदेशमा कोरोना सङ्क्रमणका कारण थप तीन नेपालीको मृत्यु



काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

तीमध्ये ५५ हजार ७९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार २७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार ८५४ जना छ भने दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनामुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !