५ जेष्ठ २०८१, शनिबार

ओलीलाई हटाए लगत्तै नेकपाको अध्यक्षमा माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षीय केन्द्रीय कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

आज राजधानीमा बसेको प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

कार्की बैंकेटमा बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

ओलीलाई हटाउने प्रस्ताव उपस्थित ३ सय १५ जना केन्द्रीय समितिमध्ये सबैले समर्थन गरेपनि माधव नेपाललार्य अध्यक्ष बनाउने प्रस्तावमा भने प्रभु शाह विपक्षमा उभिए । उनले खुलेरै यसको विरोध गरेका थिए ।

नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको ४ सय ४७ मध्ये ३ सय १५ जनाको उपस्थिति बैठक बसेको थियो । बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी थिए ।

यसअघि ओली पक्षीय नेकपा बैठकले केन्द्रीय कमिटी बैठक विस्तार गरी ११ सय ९९ बनाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्य थपेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा समेत पठाएको छ । पछिल्लो घटना विकसित भएसँगै नेकपा फुटेको छ । अब निर्वाचन आयोगले कुन पक्ष आधिकारिक भन्ने निक्र्यौल गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !