नेकपाका दुवै समूहसँग आयोगको छलफल सुरु, ओली र दाहालको हस्ताक्षरमा आए मात्र एउटा दल दर्ता हुने
काठमाडौ। निर्वाचन आयोगले दुई समूहमा विभाजित नेकपाभित्रको विवादमा राजनीतिक निकास निम्ति विधि र तरिकाबारे परामर्श गर्न दुवै समूहका नेताहरुसँग छलफल शुरु गरेको छ । नेकपा कानुनी भाषामा छुट्टिएका छैनन्, तर सतहमा दुई समूहमा विभाजित छन् ।
आयोगका एक पदाधिकारीले दल दर्तासम्बन्धी निकास खोज्न दुवै समूहका नेताहरुलाई बोलाएको जानकारी दिए । ‘उहाँहरु राजनीतिका सक्रिय खेलाडी हुनुहुन्छ, उहाँहरुको संलग्नता बेगर चुनाव गर्न सकिँदैन’ ती पदाधिकारीले भने, ‘निकास निम्ति छलफल गर्न डाकिएको हो ।’
तर उनीहरुको झगडाको रुप हेर्दा आयोग सकसमा फस्ने देखेपछि सहमतिमा ल्याउन सकिन्छ भन्ने उद्देश्यअनुरुप बोलाएको हो । आयोगले केही दिनअघि अध्यक्ष स्वयं या अध्यक्षले तोकेको पदाधिकारी र कानुनी पृष्ष्ठभूमि भएका नेताहलाई पठाउन पत्राचार गरेको थियो ।
आयोगले केही दिनअघि ‘प्रशासनिक निर्णय’ गरी नेकपा विभाजन गर्न असमर्थ रहेको र पुरानै दललाई मान्यता दिन सक्ने जानकारी गराएको थियो । उसले दुवै समूहले राजनीतिक दल विभाजनसम्बन्धी कानुनी दफामा प्रवेश गर्न नचाहेको जिकीर लिँदै दुवै समूहलाई निर्णय ‘अभिलेखीकरण नगर्ने’ ठहर सुनाएको थियो ।