नेपालमा भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ ।
१८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । सूचकांकअनुसार न्युजिल्यान्ड र डेनमार्क समान ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएका छन् भने साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।