यातायात कार्यालयको सोफामा २ लाख २३ हजार भेटियो
१४ माघ, जनकपुरधाम । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फेला पारेको जनाएको छ ।
लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो ।
छापा मार्ने क्रममा सोफाको कुनामा पैसा भेटिएको थियो । सोफाको कुनामा र अन्य फर्निचरमा प्लाष्टिकमा बेरेर पैसा राखेको अख्तियार टोलीले भेटेको थियो । लुकाएर राखिएको २ लाख २३ हजार ८ सय रुपैयाँ बाँडफाँटका लागि राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
अख्तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लियो । बिचौलिया भगतको साथबाट ५० हजार बरामद गरेको छ।
अख्तियार टोलीले निमित्त प्रमुख वीरेन्द्र साहसँग पनि सोधपुछ गरेको छ । बिचौलिया भगतले ट्याक्टर चालकको लाइसेन्सको लागि घूस वापत रकम बोकेर आएको बयान अख्तियार समक्ष दिएको स्रोतले जनाएको छ ।
यो कार्यालयमा रहेको झण्डै ४ सय स्मार्ट लाइसेन्स गत कात्तिकको पहिलो साता धान खेतमा फालिएको अवस्थामा फेला परेको थियो ।