प्रतिनीधिसभा विघटन बारे नेम्वाङका अभिव्यक्ती संवैधानिक इजलासले टिपोट गरेको छ : प्रधानन्यायाधीश राणा
काठमाडौ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनीधिसभा विघटनका बारेमा संविधानसभा अध्यक्षका रुपमा सुवास नेम्वाङले दिएका अभिव्यक्तिलाई संवैधानिक इजलासले टिपोटमा राखेका बताएका छन् । प्रतिनिधिसभा विघटनबारे जारी सुनुवाइका क्रममा बुधबार प्रधानन्यायाधीश जबराले नेपाल बार एसोशियसनका पूर्व अध्यक्ष शेरबहादुर केसीको प्रश्नको प्रत्युत्तरमा यस्तो जानकारी दिएका हुन् ।
वरिष्ठ अधिवक्ता केसीले संविधान निर्माणकै क्रममा संविधानसभा अध्यक्षका रुपमा सुवास नेम्वाङले संविधान निर्माणकै क्रममा प्रतिनिधिसभा विघटनबारे दिएका अभिव्यक्तिकाबारे इजलासको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीलाई आफूखुशी प्रतिनिधिसभा विघटनको अधिकार नभएको भनेर नेम्वाङले उतिबेला भनेका थिए । केसीले सो विषयमा इजलासको ध्यानाकर्षण गराएपछि प्रधानन्यायाधीश जबराले नेम्वाङका ती अभिव्यक्तिलाई इजलासले टिपोटमा राखेको जनाएका हुन् ।
प्रधानन्यायाधीश राणाले भने–‘यो विषयमा इजलासमा पटक पटक कुरा उठिसकेको छ, यसलाई हामीले टिपोटमा राखेका छौं ।’ केसीले प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्दैन भनेर सार्वजनिक रुपमै प्रधानमन्त्री केपी ओलीले भाषण गर्दै हिँडेकोतर्फ पनि इजलासको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधान न्यायाधीश जबराले मुद्दा जति लम्बिँदै जान्छ, बाहिर यस्ता क्रियाकलाप त्यति नै बढ्दै जाने भएकाले सकेसम्म छिटो यस विषयमा अदालत टुंगोमा पुग्नुपर्ने भन्दै आफूहरु बाहिर उठेका विषयलाई भन्दा पनि इजलासमै मुद्दाको प्रक्रियाका बारेमा केन्द्रित भइरहेको प्रस्ट पारे । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा बुधबार लगातार १० औं दिन बहस भइरहेको छ ।