कोरोनाविरुद्धको खोप लगाउन आजदेखि शुरू
काठमाडौं । सरकारले बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने छ ।बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भने कोरोनाविरुद्धको खोप नलगाउने भएका छन् ।
सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको जनाएको छ । बुधवारदेखि नै सरकारले देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँकी रहेकाले योजनाअनुसारका केन्द्रबाट खोप अभियान शुरू गर्न नसकेको हो । आगामी आइतवारदेखि ३०० ओटा केन्द्रबाट खोप लगाइने स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा.झलक शर्मा गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १२ , भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप लगाउन शुरू गरिनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ ओटा खोप केन्द्रबाट खोप लगाइनेछ । उपत्यकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, शहीद गंगालाल ह्दयरोग केन्द्र, भक्तपुर अस्पताल, किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, आनन्द वन अस्पताल र नेपाल एपीएफ अस्पतालमा खोप केन्द्र बनाइएको छ ।