२७ बैशाख २०८१, बिहीबार

कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने



१२ माघ, काठमाडौं । कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा। सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो ।

बुधबार बिहान ठीक १० बजे प्रधानमन्त्री केपी ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डा। अनुप बाँस्तोला दुवैले पहिलो खोप लिने बताएका थिए । तर, निर्देशकका रूपमा रहेकाले राजभण्डारीले पहिलो खोप लिने भएका छन् । दोस्रोमा डा। बाँस्तोलाले लिने सूची तय भएको छ ।

स्वास्थ्य मन्त्रालय र टेकु अस्पताल प्रशासनबीच सोमबार विभिन्न चरणमा छलफल भएको थियो । टेकु अस्पतालमा खोप केन्द्र पनि रहनेछ । निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

गत वर्षको ९ माघमा नेपालमा कोभिडको पहिलो केस देखिएको थियो । संक्रमित व्यक्ति ज्वरो र खोकीको समस्या लिएर उपचारका लागि टेकु अस्पताल पुगेका थिए । कोभिडको आशंकामा उनको स्वाब परीक्षण विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०को हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । कोभिड पुष्टि भएपछि टेकु अस्पतालमै राखेर उनको उपचार गरिएको थियो ।

सोमबारसम्म देशभर दुई लाख ६९ हजार सात सय ८९ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये दुई लाख ६४ हजार पाँच सय ३८ जना निको भएर घर फर्किसकेका छन् भने तीन हजार दुई सय ४० संक्रमित उपचाररत छन् । संक्रमणबाट अहिलेसम्म दुई हजार ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार टेकु अस्पतालमा खोपको शुभारम्भ भएसँगै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि १० बजेकै समयमा खोप दिन सुरु गरिनेछ । तर, यी अस्पतालमा पहिलो खोप लिने कर्मचारीसहितको सूची भने तयार भएको छैन । ‘खोप १४ माघबाट सुरु गर्ने भन्ने तय छ, तर खोप लगाउने कर्मचारी सूची तयार भएको छैन । मंगलबार छलफल गरेर नाम टुंगो लगाउँछौँ,’ शिक्षण अस्पतालका कोभिड चिकित्सक डा। सन्तकुमार दासले भने ।

अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारतले अनुदानमा दिएको हो । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । ‘कोभिसिल्ड’को आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ । एस्ट्राजेनेका खोपको फर्मुला अपनाएर भारतमा ‘कोभिसिल्ड’ खोपको उत्पादन भएको स्वास्थ्यसचिव लक्ष्मण अर्यालले बताए ।

‘भारत, बंगलादेश, म्यानमार, माल्दिभ्स र भुटानमा पनि कोभिसिल्डको प्रयोग हुन थालेकाले हामीले सुरु गर्न लागेका हौँ,’ सचिव अर्यालले भने । यो खोपको प्रभावकारिता ७० देखि ९१ प्रतिशत सुरक्षित भनिए पनि नेपालले पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउनेछ । दोस्रो डोज जति ढिला लगायो यसको प्रभावकारिता त्यति बढी हुने अधिकारीहरूले बताएका छन् । यो समाचार आजको नायँपत्रिकामा अर्जुन अधिकारीले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !