भोलि कांग्रेस बैठक, थप आन्दोलन घोषणा गरिनुपर्नेमा जोड
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच भोलि दिउँसो १ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
बैठकमा पार्टी कार्यालय सानेपामा बस्ने छ । पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने जनाएको छ । तर संसद विघटनविरुद्ध आन्दोलन घोषणा हुने वा नहुने प्रष्ट नभएको एक नेताले बताएका छन् ।
बैठकको अघिल्लो दिन सोमबार सानेपामा दुई महामन्त्रीसहित दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापति निकट नेताहरुले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए ।
‘हामीले थप आन्दोलनका कार्यक्रम आउनुपर्छ, भ्रातृ संगठनहरुलाई पनि परिचालन गर्नुपर्छ भनेका छौं । आउने नआउने टुंगो छैन, छलफलमा सहभागी एक नेता भने ।’
पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुको बस्नु अघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । नेताहरुले संसद विघटन असंवैधानिक भएकाले आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरु बताउँछन् । उनले अदालतमा विचाराधीन मुद्धामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन् ।