२८ बैशाख २०८१, शुक्रबार

माघ २३ गते ओली समूहको ‘बृहत् जनसभा’, दुई लाख जनता उतार्ने दाबी



१२ माघ, काठमाडौं । माघ २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काठमाडौंमा गर्ने ‘बृहत् जनसभा’ हुने भएको छ । बृहत् जनसभामा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको छ ।

ओली समूहको बागमती प्रदेश संगठन कमिटीले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा हुनेछ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिए पनि तत्काल दाहाल-नेपाल समूहसँग एकताको सम्भावना नरहेको नेता ईश्वर पोखरेलले बताए ।

एकता भइहाले पनि दुई शर्तमामा मात्रै सम्भव भएको उनले बताए । उनले भने, ‘कात्तिक २८ गते प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’

जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने निर्णय गरेको छ । नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिलसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !