राप्ती पुल उदघाटन गर्न आज प्रधानमन्त्री दाङ जाँदै
१२ माघ, काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाने भएका छन् । प्रधानमन्त्री ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न दाङ जान लागेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।
८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको भएको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।
करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।
प्रधानमन्त्री ओलीले राप्ती पुलको उदघाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।