७ मंसिर २०८१, शुक्रबार

कोरोनाविरुद्धको खोप बुधबार बिहान १० बजेबाट लगाउन सुरु

प्रधानमन्त्री ओलीबाट खोपको शुभारम्भ



काठमाडौं । नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिएका छन् ।

मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्री त्रिपाठीले खोप अभियानको शुभारम्भ बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने बताएका छन् ।

‘कोभिड–१९ विरुद्धको संघर्षमा हामी महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछौं,’ उनले भने, ‘कोभिड–१९ खोप अभियानको पहिलो चरणमा प्राथमिकतामा रहेका लक्षित समूहलाई खोप प्रदान गरिने छ ।’

भर्चुअल कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अस्पताल र काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।

बुधवार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरूबाट खोप लगाउन सुरु गरिने उनले जनाए ।

पहिलो चरणको खोप कार्यक्रममा झण्डै चार लाख ३० हजार मानिसलाई खोप लगाउने तयारी रहेको र यो काम १० दिनभित्र सक्ने मन्त्री त्रिपाठीले बताए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप सातवटै प्रदेशमा पठाउने काम भइरहेको र यो खोपको तेस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले ढुक्क भएर लगाउन मन्त्री त्रिपाठीले सबैलाई आग्रह गरे ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारीलगायतलाई खोप दिने मन्त्रालयले जनाएको छ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए बताए ।



प्रतिक्रिया दिनुहोस !