१५ चैत्र २०८०, बिहीबार

सौराहामा पर्यटन प्रर्वद्धनका लागि ‘घुमौँ सौराहा’ अभियान हुने



चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रर्वद्धनका लागि ‘घुमौँ सौराहा’ अभियान हुने भएको छ ।

नाकाबन्दी, भुकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाईरस सँगै ठप्प बनेकोछ । जसका लागि होटल व्यवसायीहरुको साझा संस्था क्षेत्रिय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान गरिने क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भट्टराइले जानकारी दिए ।

आन्तरीक पर्यटनमार्फत् क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आकर्षित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसाँगै व्यवसायिक भेटघाट राख्दै यहि पुस १० गतेबाट अभियान गरिने भट्टराइले जानकारी दिए ।

अभियानको क्रममा पुष १० विराटनगर, ११ जनकपुर र पुस १२ गते विरगञ्जमा कार्यक्रम गरिनेछ । कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष दिपकले भने,‘स्वदेशभित्र भने घुम्न र पर्यटकहरुलाई आकर्षित गर्न घुमौँ सौराहा अभियान सुरु गर्न लागेका हौँ ।’

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक पुग्ने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो । स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिने योजना अनुसार कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ आयम थपिने होटल संघका महासचिव गुणराज थपलियाले बताए ।

कोरोनाका कारण घरमै बस्दा हैरान भएका व्यक्तिहरू घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषण गर्ने संघले जनाएको छ । ‘हाम्रो उद्देश्य नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेजसहित घुमौँ सौराहा अभियान ल्याएका हौं’ थपलियाले भने ।



प्रतिक्रिया दिनुहोस !