१० मंसिर २०८१, सोमबार

ड्राइभिङ लाइसेन्समा कोटा सिस्टम आजबाट हट्यो, यसरी भर्नुहोस् फर्म



९ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)आवेदनमा कोटा प्रणाली हटाएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएको छ ।

विभागले लाइसेन्सको अनलाइन आवेदन दिन पनि सास्ती हुने भएपछि दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो ।

अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरेको विभागले जनाएको छ । यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेको थियो ।

यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो । प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभाग दाबी गरेको छ ।

अनलाइन फर्म भर्ने तरिका यस्तो छ ।

  • यातायात व्यवस्था विभागको वेबसाइट https://www.dotm.gov.np/ मा जानुहोस् ।
  • वेबसाइटको होम पेजमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको अनलाइन सवारी चालक अनुमति पत्रको लिंकमा क्लिक गर्ने ।
  • ड्राइभिङ लाइसेन्स अनलाइन रजिष्ट्रेसनमा क्लिक गर्ने ।
  • त्यसपछि नागरिकता अर्थात सिटिजन सिपको अप्सनमा क्लिक गरेर छान्ने ।
  • आफ्नो व्यक्तिगत विवरण भर्ने । जसमा जन्म मिति छानेपछि उमेर आफैं आउनेछ ।
  • स्थायी ठेगाना अर्थात नागरिकतामा भएको ठेगाना भर्ने । यदि स्थायी अस्थायी ठेगाना एउटै भए एउटै राख्ने ।
  • आफूले दरखास्त दिन लागेको वर्ग छान्ने ।
  • प्रोफेस्नल अथवा ननप्रोफेस्नल भन्ने अप्सनमा ‘अदर’ मा क्लिक गर्ने ।
  • आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्ने । साथै, त्यही अञ्चलको लाइसेन्स कार्यालय छान्ने ।
  • सबै विवरण भरिसकेपछि सबमिट गर्ने ।
  • आर यु स्योर यु वान्ट टु कन्टिन्यु रु भन्ने म्यासेज आउँदा ओकेमा क्लिक गर्ने ।
  • आफूले भरेको विवरण पुन एकपटक चेक गरी फरक परेर सच्याउनुपरेमा इडिट डिटेल्स मा क्लिक गरी सच्याउन सकिने छ ।
  • विवरण ठीक भएमा सेभ डिटेलमा क्लिक गर्ने ।
  • त्यसपछि एप्लिकेन्ट सेभ सक्सेसफुल्ली देखिन्छ ।
  • ओकेमा क्लिक गर्ने ।त्यसपछि प्रिन्टमा क्लिक गर्ने अथवा स्क्रिनसट गरेर राख्ने ।
  • उक्त विवरण प्रिन्ट गरी त्यहाँ तोकिएको मितिमा सम्बन्धित कार्यालयमा जाने ।



प्रतिक्रिया दिनुहोस !