६ जेष्ठ २०८१, आईतवार

कोरोना खोप लिएर भारतबाट काठमाडौंका लागि उड्यो एयर इन्डिया



काठमाडौं । नेपाललाई भारतले दिएको १० लाख डोज भ्याक्सिन बोकेको विमान नेपालतर्फ उडेको छ। अबको केही बेरमा एयर इन्डियाको विमान काठमाडौं आइपुग्नेछ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै नेपालका लागि १० लाख डोज ‘कोभिसिल्ड’ खोप लिएर भारतबाट जहाज उडेको जनाएका छन्।

बुधवार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिएका थिए।

नेपालमा भ्याक्सिन आएपछि पहिलो चरणमा कोभिड १९ विरुद्ध अग्रपङ्क्तिमा रहेकाहरुलाई प्रदान गरिनेछ। भ्याक्सिन वितरण गर्न सरकारले सबै तयारी पूरा गरिसकेको मन्त्री त्रिपाठीले बताएका थिए।

‘भ्याक्सिन मैत्री’ अभियान अन्तर्गत भारतले आजबाट नेपाल सहित दक्षिण एसियाली राष्ट्रलाई भ्याक्सिन उपलब्ध गराउन सुरु गरेको हो। भारतले आजै बंगलदेशलाई पनि भ्याक्सिन पठाएको छ ।



प्रतिक्रिया दिनुहोस !