५ जेष्ठ २०८१, शनिबार

भोलि १० लाख कोरोना खोपको नेपाल आइपुग्ने, वितरणको योजना यस्तो छ



काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप १० लाख कोरोना खोप नेपाल पठाउने भएकोे छ ।

भारतले आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन थालेको पाँचौ दिनमै नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । ‘कोभिसिल्ड’ खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ ।

डाक्टर गौतमका अनुसार भोलि काठमाडौं आइपुग्ने खोप स्वास्थ्य सेवा विभाग, टेकुमा भण्डारण गरिनेछ ।

उनका अनुसार स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । प्रदेशबाट जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप वितरण गरिनेछ । हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने दक्ष जनशक्ति ८ हजार छन् । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनका तयारीका लागि मङ्गलबारदेखि प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।

वितरणको योजना यस्तो छ

सरकारले कोभ्याक्समार्फत पहिलो चरणमा आउने तीन प्रतिशत जनसंख्यालाई खोप आउने र त्यो खोप कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिने (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी)र सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सार्वजनिक क्षेत्रका कर्मचारीलाई दिने योजना बनाएको थियो । त्यसपछि ५५ वर्षभन्दाका दीर्घरोगी खोपको प्राथमिकता सूचीमा पर्नेछन् ।

गौतमकाअनुसार अहिलेसम्म खोप लगाउने फ्रन्टलाइनरको संख्या यकीन भइसकेको छैन । तर खोप उपलब्धताका आधारमा फ्रन्टलाइनरको समूह छुट्याउने तयारी छ । उनी भन्छन्, ‘१० लाख डोजले ३ प्रतिशत फ्रन्टलाइनरलाई दिन पुग्छ, हामी प्राथमिकताका आधारमा वितरण गर्छौं ।’

उनकाअनुसार स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा पर्नेछन् । त्यसपछि एम्बुलेस चालक र शववाहन चालक छन् । तेस्रो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ मजदुर पर्नेछन् । ‘शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी पनि तेस्रो प्राथमिकतामा पर्छन्’ डा.गौतमले भने, ‘फ्रन्टलाइनरलाई निजी र सरकारी भनेर छुट्याइएको छैन । प्राथमिकतामा पर्नेहरुलाई समान वितरण गरिन्छ ।’

यसरी छुट्याइएको प्राथमिकता समूहले खोप लगाएपछि बाँकी रहेमा दीर्घरोगी, सुरक्षाकर्मी र शैक्षिक संस्थामा कार्यरत फ्रन्टलाइनरलाई लगाउने सरकारको योजना छ । उनका अनुसार खोप संस्थागत रुपमा वितरण हुनेछ ।

स्वास्थ्य सेवा विभागले यसअघि नै स्वास्थ्य संस्थाहरुसँग फ्रन्टलाइनरको नामावली माग गरिसकेको छ । खोप अभियान सञ्चालनका लागि कुन समयमा कसले कहाँ खोप प्राप्त गर्ने विवरण समेटिएको सूची नै तयार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !