५ जेष्ठ २०८१, शनिबार

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.थापा नियुक्त



काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त भएका छन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठन भएको तीन सदस्यीय छनोट समितिको सिफारिसमा कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रध्यापक डाक्टर थापालाई उपकुलपतिमा नियुक्त गरेका छन् । उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ ।

उपकुलपति छनोट गर्न गठित समितिले डा.रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुङ्गाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका छन् ।

काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि यस विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका थिए । थापाले यस विश्वविद्यालयमा २७ वर्ष काम गरेका छन्। नवनियुक्त थापा नौ वर्ष डिन र पाँच वर्ष रजिस्ट्रार भएका थिए।

पेसामा मेकानिकल इञ्जिनियर उपकुलपति प्रा.डा.थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका छन् । उपकुलपति नियुक्त भएपछि उनले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागिपर्ने बताएका छन् । उनले अहिले देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागिपर्ने बताउँदै त्यसको लागि पूर्वउपकुलपति, प्राध्यापक सङ्घ लगायतसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !