१० मंसिर २०८१, सोमबार

ओलीले प्रचण्ड र मलाई जेल हाल्ने योजना बनाएका छन् : नेता नेपाल



माघ ,७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जेल हाल्न खोजेको आरोप लगाएका छन् ।


बुधबार बिहान अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले आफूलाई जेल हाल्नका लागि ओलीले योजना बनाएको नेपालले दाबी गरे ।

‘पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने ओलीको योजना हो,’ नेपालले भने । ओलीले आफूहरुको राजनीतिक जीवन सिध्याउन खोजेको उल्लेख गर्दै त्यस्ता षड्यन्त्रलाई परास्त गरिने पनि नेपालले बताए । ‘प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा सबैको एकमत भएपनि सत्ताको चलखेलसँग जोडेर सबै उस्तै हुन भन्ने जनतामा छाप पनि परेजस्तो देखिन्छ, यस्तो भ्रमले कहिलेकाहीँ परिस्थितिलाई उल्टोसमेत बनाउन सक्छ ।’ अब यस्तो भ्रम चिर्न मुखले नभई व्यवहारले सावित गर्नुपर्ने उनको भनाइ छ ।

कतिपय मानिसहरुले ओली र माधव नेपाल उस्तै हुन भनेकोमा पनि नेपालले गुनासो गरे । ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ,’ नेपालले भने ।
आगामी दिनमा नेकपा लोकतान्त्रिक ढंगले सञ्चालन हुने र एउटा विधि बनाएर व्यवहारमा लागु गरिने नेपालको भनाइ छ । अन्तरक्रिया कार्यक्रममा सम्पादकहरुले उठाएका प्रश्नहरु तिखो भएपनि सही रहेको भन्दै अध्यक्ष नेपालले आजको कठिन परिस्थितिमा आफूमाथिका प्रश्न तथा सुझावलाई सहज रुपमा ग्रहण गरिने बताए ।

ओलीको काम छलछाम र षड्यन्त्र बाहेक अन्य केही नभएको पनि अध्यक्ष नेपालले आरोप लगाए । ओलीको षड्यन्त्रबाट आफू पहिलेदेखि नै पीडित हुँदै आएको र अहिले प्रचण्ड समेत त्यहाँ जोडिन पुगेको नेपालले बताए ।



प्रतिक्रिया दिनुहोस !