२६ बैशाख २०८१, बुधबार

ओलीको अहमताले आएको संकटको जिम्मा उनले नै लिनुपर्छ: कांग्रेस नेता न्यौपाने



काठमाडौं । नेपाली कांग्रेसका नेता रामप्रसाद न्यौपानेले नेकपा अब इतिहासमा सीमित हुने बताएका छन् ।

काठमाडौ महानगरपालिका वडा नम्बर ४ का सभापति न्यौपानेले आफ्नै कारण नेकपाले संकटको बाटो रोजेको दाबी गरे । ‘हिजोको दिनमा नेकपालाई जनताले केही होला कि भनेर त्यत्रो मत दिए तर आज त्यो मतको अपमान भएको छ, नेकपालाई वर्तमानले अहिले र भविष्यमा इतिहासले माफी दिने छैन’ उनले भने ‘ भइरहेको आफ्नो बहुमतको सरकार ढालेर फेरि पनि निर्वाचन गर्छु अनि दुई तिहाई ल्याउँछु भन्ने कल्पना नगरे हुन्छ ।’ उनले प्रधानमन्त्री खड्गप्रसाद ओलीले देश, पार्टी, संविधान र वर्तमान शासन व्यवस्थामाथि नै प्रहार गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीमा अहमता र घमण्डीपन बढेकाले यो अवस्था आएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्रीले संविधानविरोधी कदम चालेकाले आगामी दिनमा आइपर्ने संकटको जिम्मा पनि उनले नै लिनुपर्ने बताए । ‘आफ्नै कारणले नेकपा कमजोर भए त्यो त ठिकै छ, हामीलाई कुनै चिन्ता भएन देश बिगारेको जिम्मा पनि उनीहरुले लिनुपर्छ’ उनले भने ‘कसैले जे मन लाग्यो त्यो गर्ने हो भने संविधान र कानुन किन बनाउनु ? उनले नेपाली कांग्रेस निर्वाचनको विपक्षमा नभएको पनि स्पष्ट पारे । ‘कांग्रेस निर्वाचनबाट भाग्न खोज्यो भन्छन् बाहिर तर त्यो गलत कुरा हो, मुख्य कुरा त यो सिस्टम रहन्छ कि रहँदैन भन्ने चिन्ता भइसक्यो’ नेता न्यौपानेले भने ‘निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा छ यो सत्य हो तर आफ्नो फाइदा मात्र हेरेर देशलाई अस्थिर पार्ने सोच कांग्रेसले पनि राख्नु हुँदैन ।’
उनले सरकारको गलत कदमको विरुद्ध कांग्रेसले गरेको सडक संघर्ष उत्साहजनक भएको दाबी गरे ।

बिहीबार कांग्रेसको सरकारको कदमको विरोधमा सबै वडामा संघर्षको कार्यक्रम गर्दैछ । उनले आफूहरुले पनि तयारी गरिरहेको जनाए । आन्दोलनलाई सर्वसाधरणको पनि समर्थन रहेको उनको भनाई छ । सरकारले गरेका अनियमितता, भ्रष्टाचार, देशघाती सन्धि सम्झौताको विरुद्धमा कांग्रेस सक्रिय भएर लाग्नुपर्ने उनको धारणा छ । न्यौपानेले सरकारमा रहँदा कांग्रेसले राम्रो काम गर्न नसकेको भनेर जनताले गरेको आलोचनालाई ध्यान दिँदै आगामी दिनमा पार्टी अघि बढ्ने पनि प्रतिबद्धता जनाए ।


उनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । ‘सर्वोच्च अदालतले त संविधानकै व्याख्या गर्ने हो, ओलीलाई आफ्नै पार्टीका मान्छेले असहयोग गरेको भनेर दिएको कुतर्क त न्यायालयले सुन्दैन’ उनले भने ‘ आशा गरौं, प्रतिनिधिसभा ब्यूँतिन्छ र देशले नयाँ दिशा लिने छ ।’
उनले अबको निर्वाचनमा कांग्रेसको जनलहर देखेर अरु पार्टीका मानिसहरु छक्क पर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !