२८ बैशाख २०८१, शुक्रबार

रुकुममा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षबीच विवाद, हवाई फायर गरेर स्थिति नियन्त्रणमा



रुकुम ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा नेकपाका दुई समूहबीच भएको विवादले उग्र रुप लिएको छ। विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रण गर्न ९ राउण्ड हवाइ फायर गरिएको थियो।

‘आपसी झगडा प्रहरीसम्म आइपुगेपछि प्रहरीले मिलाउन खोज्दा केही व्यक्तिहरुले चौकीमै ढुंगामुढा गरेछन्,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको हो।’

डिएसपी श्रेष्ठका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ। केही मानिसले प्रहरी चौकीमा ढुंगा हान्दा तीन जना प्रहरीको टाउकोमा चोट लागेको उनले जानकारी दिए।

आठबीसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसीले झगडा गर्ने समूहलाई नै खास कारण थाहा नभएको बताए। एक समूहले अर्को समूहलाई होच्याउन खोजेका कारण झगडा भएको मेयर केसीले बताए। उनले भने ‘झगडाको विषय खास के हो भन्नेबारे न उनीहरुलाई थाहा छ, न त हामीलाई नै।’

मेयर केसीले पार्टीको विषयलाई लिएर केही युवाहरु उग्र बन्न थालेपछि प्रहरीले हवाई फायर गरेको बताए।



प्रतिक्रिया दिनुहोस !