कोरोनाविरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ ।
डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने निश्चित रहेको चेतावनी दिएका हुन् ।
गरीब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु खोपको अनुचित र असमान वितरणको उच्चतम नमूना भएको उनले बताए ।
अहिलेसम्म विश्वका ४९ देशमा तीन करोड ९० लाख डोज खोप दिइएको र ती अधिकांश खोप असमान तवरले वितरण भएकोमा गेब्रियससले चिन्ता जनाएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म चीन, भारत, रूस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् ।
कोरोनाविरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरीब देशले चुकाउनुपर्ने उनले चेतावनी दिए ।
डब्ल्युएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दोरूपमा देखिने खतरा उच्च भएको आकलन गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । यो कार्यक्रम अर्को महिना सुरु हुनेछ ।
डब्ल्युएचओले आउँदो अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु हुने अपेक्षा गरेको छ ।