प्रधानमन्त्री ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको नेपालको आरोप
काठमाडौं । नेकपा दहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको आरोप लगाएका छन ।
आज राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।
संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने तर्क गर्दै उनले प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् ।
उनले भने, ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ । प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत अध्यक्ष नेपालले आरोप लगाए ।
अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरे । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे ।
‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो ।उनले भने, ओलीको अस्ताउँदो सूर्य हो, उदाउँदो सूर्य चिन्ह त हाम्रो हो’ ।
संसद विघटन असंवैधानिक कदम भएको भन्दै निर्णायक आन्दोलनको आवश्यकता भएको उनले बताए ।
कार्यक्रममा प्रचण्ड माधव पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीका विरुद्ध उत्रिने बेला आएको बताइन ।
विदेशीको डिजाइनमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने र राष्ट्रपतिले त्यसलाई एक मिनेट पनि नसोची ‘ओके’ गर्नु भनेको मुलुकलाई संकटको भुमरीमा पार्नु भएको उहाको भनाइ थियो ।