२७ बैशाख २०८१, बिहीबार

ओलीले संसद होइन, संविधान र गणतन्त्र नै विघटन गरे: प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मात्र नगरेर संविधान र गणतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्ड’ले यस्तो आरोप लगाएका हुन ।

ओलीले अहिलेसम्म प्राप्त उपलब्धी ‘हत्या’ गर्ने काम गरेको उनले आरोप लगाएका छन् । उनले जनताले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिहरुलाई जोगाउन आफूहरु संघर्षमा उत्रनुपरेको बताए ।

उनले भने, ‘केपी ओलीले संसद् विघटन गरेका होइनन् । संविधानमा यो व्यवस्था पनि छैन । प्रधानमन्त्रीलाई यो अधिकार पनि छैन । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै विघटन गरेका हुन् ।’

प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने अवस्था सिर्जना भएको बताए । अहिलेको विवाद पदको नभएर विचारको भएको दाबी गर्दै उनले ओलीले पद र शक्तिका लागि मात्रै पार्टी एकता गरेको आरोप लगाए ।

‘हामीले पार्टी र देशलाई बलियो बनाउन पार्टी एकता गरेका थियौँ। तर, उहाँले प्रधानमन्त्री पद र शक्तिको लागि मात्रै पार्टी एकता गरेका रहेछन्। अरू सबै सहमति त किर्ते नै रहेछ’ उनले भने।

उनले नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरि एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गरेका थिए । उनले माघ ९ गते विशाल प्रदर्शनमार्फत जनताको शक्ति देखाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !