थाल्यो मेगा बैंकले ‘वीच्याट–पे’ भुक्तानी सेवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘वीच्याट–पे’सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ ।
सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्ने जनाएको छ । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् ।
चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुने विश्वास रहेको छ ।
डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए ।