२१ बैशाख २०८१, शुक्रबार

अध्यादेश विषयमा छलफलका लागि प्रधानमन्त्रीले साँझ बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक बस्ने बारे जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने छ । बैठकमा मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने गुरुङले बताए ।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा परेपछि सोही विषयमा छलफल हुनसक्ने बताइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको थियो ।

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र फिर्ता लिने सहमतिपछि नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले अध्यादेश फिर्ता लिने निष्कर्ष निकालेको थियो ।



प्रतिक्रिया दिनुहोस !