२७ बैशाख २०८१, बिहीबार

प्रचण्डलाई ओलीले भने, सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनु पर्ने बताएका छन् । सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको समेत बताएका छन् ।

आज प्रदेश १ को सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने बताए ।

ओलीले भने, ‘मेरो समन्वयमा महासचिवले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनु भएको थियो । तर हाम्रा केही केन्द्रीय सदस्य बैठकमा सहभागी हुनु भएन । पछि बुझे उहाँहरु त सूर्य चिन्ह हाम्रो भन्दै निर्वाचन आयोग पो जानुभएछ ।’

एक पटक पनि सूर्य चिन्हमा चुनावमा नलड्ने व्यक्तिले चुनाव चिन्ह दाबी गर्नु हास्यास्पद भएको बताए । उनले अझै पनि केही नबिग्रिएको बताउँदै सूर्य चिन्ह चाहिने भए पार्टीको बैठकमा आउनुपर्ने बताए । उनले निर्वाचन आयोगमा गएर चुनाव चिन्ह नपाइने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !