परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्ध थप मजवुद बनाउन केन्द्रित भएको बताएका छन ।
शनिबार अपरान्ह नेपाल फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल-भारत सम्बन्तधका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबुद बनाउन तथा विकास यात्रालाई सफल बनाउने विषयमा भ्रमण केन्द्रित रहेको बताए ।
मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए । भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप तीनवटा पुल बनाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
त्यस्तै उनले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको बताए । संयुक्त आयोगको बैठकमा ट्रान्समिसन लाइन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डीपीआर गर्ने लगायतका विषयमा सहमति भएको उनले बताए ।
यसैगरी रक्सोल–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि सहमति भएको जानकारी दिए ।
नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए ।