नेकपा ‘दाहाल-नेपाल’ समूहले ओलीसँग स्पष्टिकरण सोध्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।
ओलीले पार्टी अनुशासन विपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको बैठकको ठहर गरेको छ । प्रतिनिधि सभा विघटन गरेको भन्दै यसअघि नै प्रचण्ड नेपाल पक्षले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो ।
बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको रावलले बताए । बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ ।
त्यस्तै बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको रावलले बताए । देशका अन्य भागमा यसअघि नै तय भएको बिरोध कार्यक्रमलाई शसक्त ढंगले अघि बढाउने उनले जानकारी दिए ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे पाँचबुँदे प्रस्ताव पनि पारित गरेको छ । प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिइएको छ ।
त्यस्तै भारतीय मिडिया जी न्युजलाई अन्तर्वार्ताका साथै सगरमाथाको भ्रमणको प्रबन्ध गराइनुका साथै सगरमाथाको नाम परिवर्तन गर्ने अभियाननै चलाउँदा पनि सरकार मौन रहेको भन्दै बैठकले भर्तसना गरेको रावलले बताए ।
त्यस्तै सरकारले सरकारी साधन र श्रोतहरुको दुरुपयोग गरिरहेको, प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रुपमा सरुवा गर्ने काम गरिरहेको तथा सरकारी सञ्चार माध्यमहरुलाई लोकतन्त्रको मूल्यमान्यता विपरीत सञ्चालन गरेको भन्दै स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन पनि बैठकले माग गरेको छ ।