४ बैशाख २०८१, मंगलवार

रिजाल नेकपाको केन्द्रीय सदस्य भएपछि पर्यटन व्यवसायी उत्साहित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चन्द्र रिजाललाई पर्यटन व्यवसायीले आज सम्मान गरेका छन् ।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

पर्यटन व्यवसायी समेत रहेका ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का पूर्व अध्यक्ष रिजाललाई नेकपा समर्थक युवा पर्यटन व्यवसायीले सम्मानसँगै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

बधाई तथा सम्मानका लागि आयोजित कार्यक्रममा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले रिजाललाई केन्द्रीय सदस्य बनाउँदा पर्यटन व्यवसायीहरु अझै धेरै उत्साहित भएको धारणा राखे । कार्यक्रमका वक्ताहरुले पर्यटन क्षेत्रका नेतालाई पनि पार्टीले न्याय गरेकोमा खुशीयाली साटासाट गरे । उनीहरुले पार्टीको यो अभियानको प्रशंसा गर्दै पार्टीलाई मजबुत बनाउन सबै व्यवसायी लाग्ने प्रतिबद्धता समेत जनाए ।

रिजालले पर्यटन व्यवसायीले गरेको माया र सम्मानको लागि आभार व्यक्त गरे । रिजालले सबै व्यवसायीलाई एकताका साथ अघि बढ्न र पार्टीलाई थप उचाइमा लैजान पनि आग्रह गरे । विद्यार्थी राजनीतिबाट उदाउँदै पर्यटन व्यवसायमा समेत आफ्नो अलग्गै पहिचान बनाउन सफल रिजाल पार्टीभित्र कुशल र इमान्दार संगठक भनेर चिनिन्छन् ।

उनले सामाजिक न्याया र उत्पीडनको विरुद्धमा सधैं आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् । उनले पार्टीले पत्याएर दिएको जिम्मेवारी कुशलताका साथ पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !