छैटौँ राष्ट्रिय योग दिवस देशभर ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ मनाइँदै
काठमाडौं । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय योग दिवस मनाइँदैछ ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।
यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका छन् । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए ।
योगगुरु डा.हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए ।
दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।