प्रधानमन्त्रीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहको विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेका छन्।
बुधबार प्रचण्ड-माधव समुहको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेका हुन्।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका सह(संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको बताएका छन्।
संविधानको सही व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।
अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ। असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ।