५ जेष्ठ २०८१, शनिबार

फुटको संघारमा, नेकपा आज ओली र दाहाल-नेपाल अलगअलग भेला



काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि नेकपा फुटको संघारमा पुगेको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिँदै नेकपा विवाद साम्य पार्न ओली तयार भएको सन्देश गएको दुई दिनमा नै ओलीले प्रतिनिधिसभा नै विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रिया प्रवेश गरेको हो ।

ओली र उनी पक्षीय नेताहरूले भने पार्टीभित्रैबाट सरकारलाई असहयोगको चरम सीमा नाघेको तथा राष्ट्रपतिविरूद्ध महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने खेल भएपछि बाध्यात्मक कदम चालेको प्रतिक्रिया दिएको छ । तर, अब पार्टी एकता कायमै रहने सम्भावना क्षिण बन्दै गएको छ ।

२०७४ असोज १७ मा चुनावी गठबन्धन गर्दै २०७५ को जेठ ३ मा पार्टी एकता घोषणा गरेका तत्कालिन एमाले र तत्कालिन माओवादी अन्ततः एकता प्रकिया नटुंगिदै विभाजनको संघारमा पुगेका हुन् ।

योबीचमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेताले पनि कित्ता फेरका छन् । तत्कालिन माओवादीका नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट ओली कित्तामा पुगेका छन् भने पूर्वएमालेको माधव कुमार नेपाल खेमा प्रचण्ड कित्तामा पुगेका छन् ।

आइतबारको घटनाक्रमपछि दाहाल-नेपाल समूहको प्रतिनिधित्व गर्ने थापा र भट्टबाहेक सात मन्त्रीले राजीनामा दिएका छन् ।

आइतबार नै बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटीमा आवद्ध बहुमत सदस्यहरूको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नेकपा अब विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको आकलन हुन थालेको छ ।

उक्त निर्णय गरेको बाहिरिएसँगै ओलीले आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रियसभा सदस्यहरूलाई आज बालुवाटार डाकेका छन् ।

त्यहाँ उनले अबको परिस्थिती र पार्टीभित्रै बहुमतको प्रयत्न गर्ने नसके अर्को पार्टी बनाएर बैशाख १७ र २७ मा तोकिएको मध्यावधि चुनावमा जाने तयारीको निर्देशन दिने तयारी गरेको स्रोतले जनाएको छ ।

यतिमात्रै हैन प्रतिनिधि सभा विघटनपछि नेकपाकै इतर पक्ष र अरू राजनीतिक दलहरूबीचको कार्यगत एकता र निम्तिने सम्भावित संकटको पनि प्रतिवादका लागि ओली पक्षले रणनीति बनाउने स्रोतको दाबी छ ।

यता दाहाल(नेपाल समूह अब ‘वारपार’ को तहमा पुगेको छ । उक्त समूहले आजै संसद भवनमा विघटित प्रतिनिधसभा सदस्यहरूको भेला डाकेको छ । ओलीइतरका सदस्यहरूलाई डाकिएको उक्त भेलामा विशेषाधिकारमार्फत प्रतिनिधिसभा जगाउनेदेखि लिएर न्यायालयमार्फत र सडकमार्फत ओलीसँग लड्ने योजना बनाउने तयारी गरेको छ ।

सोही भेलामा मंगलबार डाकिएको ‘आकस्मिक’ केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल गर्ने तयारी भएको सो समूहका एक नेताले जानकारी दिए ।

नेकपामा पार्टी एकताका बेला आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने ओली र दाहालको समझदारी बाहिरिएलगत्तै गत वर्षको मंसिरदेखि बढेको असमझदारी पार्टी सञ्चालन र सरकार सञ्चालन तथा विभिन्न नियुक्तिका विवादसँगै चरमोत्कर्षमा पुगेको थियो ।

तिनै विवाद शिखरमा पुगेका बेला आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रतिनिधिसभा विघटनपछि मुलुककै राजनीतिक तनावपूर्ण अवस्थामा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !