९ मंसिर २०८१, आईतवार

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्दै



काठमाडौं । प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिएका छन् ।

हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पूरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिए ।

काठमाडौंको बूढानीलकण्ड र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको मन्त्री फुयाँलले बताए ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने उनले जानकारी दिए ।

मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन दिए ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिको लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका २२ इन्जिनीयरलाई स्वागत गरेका छन् ।

मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित राणाकालमा निर्मित १०४ वर्षीय पूरानो सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !