९ मंसिर २०८१, आईतवार

तरुलको कारोबार बढ्यो



काठमाडौं । माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ ।

माघे सङ्क्रान्तिका चहलपहल बढे संगै तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार यसपालि पोहोरको जस्तै मूल्यमा तरुलको कारोबार भइरहेको छ ।

सबैभन्दा धेरै तरुल सर्लाहीबाट भित्रिएको छ । माघे सङ्क्रान्तिमा तरुल खाने परम्परा भएको हुदा तरुलको माग बढेका कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले जानकारी दिए । तरुल सस्तोसँगै मिठो र तरकारीमा आलुको पनि काम गर्ने भएकाले उपभोक्ताको आकर्षण बढेको आचार्यले बताए ।

उनकाअनुसार बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । थोक बजारमा अहिले पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ । यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेको छ ।

सिमल तरुलको कारोबार यसपालि खासै नभएको व्यवसायीले बताएका छन् । यस्तै यसपालि स्कूसको जराको पनि खासै कारोबार नभएको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताए । पोहोर परार स्कूसको जराको कारोबार धेरै हुने गरेकोमा यसपालि घटेको भनाइ छ । बजारमा आज स्कूसको जरा किलोको ८० देखि १ सय रुपैयाँ थोक मूल्य छ ।

बजारको मागअनुसारकै तरुल भित्रिरहेकाले भाउ खासै नबढ्ने पनि उनले बताए । यसैबीच, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुद्रामा तरुललगायतका तरकारी खरिद गर्दा महँगो पर्न जाने भएकाले थोक बजारमा नै गएर तरकारी किन्न उपभोक्तालाई सुझाव दिएका छन्।

थोक बजारमा उपभोक्ताले साढे दुई किलोदेखि माथि किन्दा थोक मूल्यमा नै तरकारी पाउने समितिले जनाएको छ । खुद्रा पसलमा तरकारी किन्दा उपभोक्ताले थोक मूल्यभन्दा दोब्बर तेब्बर बढी तिर्नु पर्छ ।



प्रतिक्रिया दिनुहोस !