६ जेष्ठ २०८१, आईतवार

पहिलो पटक दुर्गम भेगमा विशेषज्ञ स्वास्थ्य शिविर



रूकुम । रूकुमपूर्वको सिस्ने गाउँपालिका–१का नागरिकले घर आगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाउन थालेका छन् ।

मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुमपश्चिमको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरमा स्थानीयले सेवा आएको हो ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दई सय २१ जनाले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर रहेको छ ।

शिविरबाट ७० पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिएका छन् ।

शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो ।

शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो । पाठेघर सम्बन्धी समस्या भएका नौ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निशुल्क उपचार गरिने छ । परीक्षण गरिएकामध्ये दुई जनामा एचआइभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन् ।

शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्या भएका बिरामी भेटिएको उपचारमा सम्लग्न चिकित्सकले बताए ।

एचआइभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुमपूर्व अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा.रामकुमार दास, जनरल फिजिसीयन डा।अरविन्दकुमार यादव लगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए ।

सदरमुकाम आउन पनि हिँडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुशी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !