यसवर्षको माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने
नुवाकोट । यसवर्षको माघे सङ्क्रान्तिमा नुवाकोटका चार ठाउँमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको छ ।
नुवाकोटमा गोरु जुधाउने चर्चित ठाउँ तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने आयोजकले जनाएका छन् ।
विदुरमा आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
तारुकाका विभिन्न ठाउँमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगत देखिनै हजारौं दर्शक आउने गरेका थिए ।
कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् । यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि सीमित रुपमा गोरु जुधाइने भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।
यस वर्ष वरपरका चार हल मात्र गोरु जुधाइने योजना बनाएको क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिएर परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उनको भनाइ छ ।
बेत्रावतीमा विजेता गोरुधनी किसानलाई पाँच हजार रुपैयाँ, हार्ने गोरुधनी किसानलाई चार हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताए ।
यस्तै शिवपुरी गाउँपालिका–५, शेराबगरमा चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए। विजेता तथा सहभागी गोरुका धनीलाई १५, १० र पाँच हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।