यसरी मनाइदैं काठमाडौंमा पृथ्वी जयन्ती (फोटो फिचर)
काठमाडौं । २९८औं पृथ्वी जयन्तीका साथै राष्ट्र एकता दिवस अवसरमा काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सोमबार विभिन्न संघ-संस्था तथा व्यक्तिले पृथ्वीनारायणको योगदानको स्मरण, झाँकी, र्याली, तस्बिर तथा सालिकमा माल्यार्पण, प्रवचनलगायत कार्यक्रम आयोजना गरी मनाएका छन् ।
यसैबीच मातृभूमिका लागि नेपालीको उपत्यका समन्वय समितिले पनि आज राजधानीमा र्यालीको आयोजना गर्दै नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहलाई सम्झिएको छ । समितिले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नहरे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नहरे’ प्ले कार्डसहित र्याली निकालेका थिए ।
र्यालीमा ‘हिमाल पहाड तराई कोही छैन पराई, मेरो सानो दुखले अर्जेको मुलुक चेतना भया, राष्ट्रि एकता दिवस अमर रहोस्, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहा अमर रहुन्’ लेखिएको ‘ प्ले कार्ड प्रर्दशन गरिएको थियो ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।
२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/ ०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।