४ जेष्ठ २०८१, शुक्रबार

जनचाहना अनुसार अगाडि बढ्न तयार छु: पूर्वराजा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू जनचाहनाअनुसार अगाडि बढ्न तयार रहेको बताएका छन् ।

पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य स्मरण गराउँदै जनचाहनाको कदर गर्ने उल्लेख गरेका छन् ।

पूर्वराजाको सन्देशमा अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरिएको छ ।

पूर्वराजाले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको पनि दर्शाएका छन् ।

नेताहरु विदेशीको इशारामा चलेकोतर्फ सावधान गराउँदै पूर्वराजाको सन्देशमा, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो ।

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको पनि पूर्वराजा शाहको सन्देशमा उल्लेख गरिएको छ ।

राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्नेमा पूर्वराजाको सन्देशमा यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ भनिएको छ । पृथ्वी जयन्तीको सार्थकता पनि रहने आफूहरुको मान्यता रहेको जनाइएको छ ।

सडकबाट ‘राजा आउ देश बचाउ’ को नारा घन्किरहेका बेलामा पूर्वराजाले दिएको यो सन्देशले विशेष अर्थ बोकेको बुझ्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !