२१ बैशाख २०८१, शुक्रबार

यसरी ल्यायो चीनले चन्द्रमाको चट्टान



एजेन्सी । बिहिबार विहानै चिनियाँ यान चन्द्रमाको चट्टान लिएर पृथ्वीमा अवतरण भएको छ । यसरी चीन रुस र अमेरिकापछि चन्द्रमाबाट चट्टान ल्याउने तेस्रो मुलुक बनेको छ । चन्द्रमा मिसनमा चीनको यो अभूतपूर्व सफलता हो ।

चाङ इ ५ नाम दिइएको यान ले ४० वर्षभन्दा बढी समयपछि चन्द्रमाबाट चट्टान र माटो ल्याउन सकेको हो । यसका लागि चीनले १६ वर्ष मिहेनत गरेको छ । विभिन्न परीक्षणहरु गरेको छ ।

एटलान्टिकभन्दा ५ हजार किलोमिटर माथिको अर्बिटरबाट क्याप्सुल यानबाट अलग भएको थियो । त्यसपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो । १२० किलोमिटर माथि प्रति सेकेन्ड ११।२ किलोमिटरका दरले यान झरेको थियो ।

पृथ्वीको सतहमा पुग्नुभन्दा १० किलोमिटर माथि यानको प्यारासुट खोलिएको थियो । त्यसपछि निकै कम गतिमा भित्री मँगोलियामा क्याप्सुल झरेको थियो । अब अनुसन्धानकर्ताहरुले चन्द्रमाबाट ल्याइएको नमूनाको परीक्षण गर्ने बताइएको छ ।

२४ नोभेम्बरमा चन्द्रमाका लागि प्रस्थान गरेको यान २३ दिनको मिसन पूरा गरी फर्किएको हो । यो १७ दिनअघि १ डिसेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो ।

त्यसपछि चट्टान र माटो संकलन गरी पुनः पृथ्वीका लागि प्रक्षेपण गरिएको थियो । यान मानवरहित हो । चीनले मानवसहितको यानका लागि यसको अभ्यास गरेको छ ।



प्रतिक्रिया दिनुहोस !