संसद विघटन पश्चात देशमा अस्थिरता ल्याउन खोज्नेहरुको सपना टुटेको प्रधानमन्त्रीको जिकिर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन खोज्ने शक्तिहरुका सपना संसद विघटनपछि चकनाचुर भएको आरोप लगाएका छन् ।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा (ओली पक्ष)को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनमा जाने घोषणा गरेपछि देशमा अस्थिरता चाहनेहरुका सपना चकनाचुर भएको बताएका हुन्।
उनले थपे, ‘देशलाई लोकतान्त्रिक बाटोबाट फोहोरी खेलको बाटोमा लान खोज्ने, अस्थितरताको बाटोमा लान खोज्ने, संविधान कार्यान्वयन हुन नदिने, विकासको गति अघि बढ्न नदिने, लोकतान्त्रिक प्रणालीलाई सुचारु ढंगबाट चल्न नदिने, त्यस्ता शक्तिहरुका प्रयास प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणाबाट चकनाचुर भएका छन्।’