प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार छैन: झलनाथ खनाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएको बताएका छन् ।
नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौंमा भएको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आफैले हस्ताक्षर गरेको र प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएको तरपनि संसद् विघटन गरेर संविधानको बलात्कार गरेको बताएका हुन् ।
‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नुभयो’, नेता खनालको भने ।
‘प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाह बन्ने प्रयास गरेको नेता खनालको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट संविधान बनाएपनि ओलीका कारण समाजवादको लक्ष्यमा सरकार हिँड्न नसकेको बताए ।
समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै उनले यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए ।
पछिल्लो निर्वाचनपछि सरकार बेनपछि केपी ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै लागेको भन्दै समाज परिवर्तनमा कुनै ध्यान नदिएको बताए । आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएपनि उनले जनताको सम्मृद्धि आकाँक्षा पुरा नगरी पार्टीलाइै भर्याङमात्र बनाएको बताए ।