प्रधानमन्त्रीमाथि सुरक्षा सतर्कता बढाइयो
काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको भन्दै सुरक्षा सतर्कता बढाएको छ ।
राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्री ओलीको गतिविधि धेरै हुने भएकाले खासगरी ओलीलाई लक्षित गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको गृह मन्त्रालयका एक अधिकारीले बताएका छन ।
प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको एक अधिकारीले बताए । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए ।
हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन् । सेनाबाट सेनानी तथा प्रहरी र सशस्त्रबाट डीएसपीको कमाण्डमा टोली खटिने गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनसक्ने र कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले उनी जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न भनिएको छ ।
ओली जाने कार्यक्रममा हुनसक्ने सम्भावित विरोधलाई लक्षित गरेर कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने हरेक चिजलाई निषेध गर्ने नीति प्रहरीले लिएको छ । विभिन्न कार्यक्रममा कालो मास्क लगाउने व्यक्ति पनि निकालिएका छन् । सरकार विरोधी नारा लगाउने व्यक्तिलाई समेत प्रहरी निगरानीमा राख्न थालेको छ ।