चार पूर्वप्रधानन्यायाधीशद्वारा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर
काठमाडौं । चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको ठहर गरेका छन् ।
पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा सार्वजनिक गरेका छन् ।
संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा त्यो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि विज्ञप्तिमा खण्डन गरिएको छ । पूर्वप्रधानन्यायाधीशहरूले संसद् विघटनलाई वैधानिकता दिए संवैधानिक दिशाविहीनताको अवस्था सिर्जना हुन सक्नेतर्फ पनि सचेत गराएका छन् ।
प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलहरूमा तीव्र ध्रुविकरण देखिरहँदा पूर्वप्रधानन्यायाधीशहरूले पनि विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेपछि थप चासोको विषय बनेको छ ।